काठमाडौं, तातोपानी नाकाबाट ८ वर्षपछि निर्यात खुल्ने भएको छ।आगामी बैशाख १८ गतेदेखि उक्त नाकाबाट आयातनिर्यात खुलाउन लागिएको हो। महाभुकम्पपछि यस नाकाबाट हुने निर्यात रोकिएको थियो भने कोभिड महामारी सुरु भएयता तातोपानी नाकाबाट मानिसहरुको आवातजावत रोकिएको थियो।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले अबको एक महिनामा चीनतर्फ हुने निर्यात खुल्ने भएको बताए। वाणिज्य सचिवहरुको बैठकले मे १ तारिखदेखि तातोपानी नाकाबाट सामान मात्र ल्याउने र पठाउने निर्णय गरेको उनको भनाई छ। उनका अनुसार नेपाली कन्टेनर खासासम्म जान दिनेबारे छलफल भएको छ। यस अघि चिनियाँ कन्टेनरहरु पुलसम्म ल्याएर छाड्ने गरिएको थियो।
‘यति बेला नाका पूर्ण रुपमा खुल्ने टुङ्गो भएको छैन। हालको लागि नाकाबाट सामानमात्र आयात निर्यात मात्र खुल्ला गरिएको हो।मानिसहरुको आवातजावत खुलाउने निर्णय आएको छैन।’- भन्सार प्रमुख केसीले बताए।हाल ठूला व्यवसायीहरुले तातोपानी नाकाबाट निर्यात खुलाउन पहल गरिरहेका छन्। रसुवा नाकाभन्दा तातोपानीबाट आयात र निर्यात गर्दा व्यवसायीहरुलाई भाडा सस्तो पर्ने र समय कम लाग्छ।
अब भन्सार भन्सार बीच छलफल पछि थप केहि निर्णय आउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ।पछिल्लो समय तातोपानी नाकाबाट दैनिक ८ देखि १० वटा कन्टेनरमा सामान आयात भइरहेको छ। यसमा लसुन र स्याउका कन्टेनर धेरै छन्।उत्तरी नाका रसुवा केरुङ हिजोदेखि पूर्ण रुपमा संचालनमा आइसकेको छ।